सताक्षीधाममा धार्मिक महोत्सव शुरु नहुँदै आधा करोड संकलन

झापा, २४ कात्तिक । झापाको सताक्षीधाममा हुने धार्मीक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरुहुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाताले दान गरेका हुन् । धार्मिक महोत्वसका संरक्षक एवम् गोलोक गोवद्र्धन गौशालका पिठाधिश आचार्य नन्दकिशोर भारद्धाजका अनुसार हाल सम्म ८५ वटा कुण्डमा दिंवगत पित्रीको उद्दार लागि दाता परिवारले नाम दर्ता गराई सकेका छन् ।

यसका अलवा शिवसताक्षी नगरपालिका ले १० लाख धार्मिक महोत्सव संचालन सहयोगार्थ प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षी नगरपालिकाका स्थानीय सरकारसमेत आयोजकको हैसियतमा रहेर धार्मिक महोत्सव आयोजना गरेको बताउँदै नगरपालिकाका तर्फबाट नगद १० लाख रुपैयाँ संचालन सहयोग प्रदान भएको बताए । अन्य स्थानीय तहहरुले पनि आआफ्नो निर्णय अनुसार सो धार्मिक महोत्सव तथा कोटीहोममा आर्थिक सहभागिता जनाउने उल्लेख गरे ।

एक नम्बर प्रदेशकै प्रमुख धार्मिक गन्तव्यका रुपमा परिचित सताक्षीधाम परिसरमा आयोजना हुन लागेको धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटिहवनको बारेमा जानकारी दिने उद्देश्यले आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा देशविदेशबाट आउने पाहुनका लागि आवास (कुटी) निर्माण, खानेपानी, विद्युत लगायतको भौतिक अस्थाइ पूर्वाधारको निर्माण सम्पन्न भएको आयोजक श्रीसताक्षी धार्मिक महोत्सव एव कोटिहोम महायज्ञ मूल समारोह समितिले जनाएको छ ।

अतिथिको स्वागतका लागि झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा ३० वटा स्वागतद्वार निर्माण भएको छ । धार्मिक महोत्सवको प्रचार प्रसारका लागि पोष्टर, पम्प्लेटिङ्ग, माईकिङ्ग, ठाँउ–ठाँउमा धार्मिक महोत्सव कोटिहोम र गौरक्षा लगायतका विषयमा जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको प्रचार प्रसार उपसमितिले जनाएको छ ।

कात्तिक २७ दखि मसिंर ९ गतेसम्म सञ्चालन हुने तेह्र दिवसीय धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटीहोम सफल बनाउन विषयगत २५ वटा उपसमिति गठन गरिएको छ । महोत्सव अवधिभर सताक्षीधाममा फ्रि वाईफाईको सुविधा पाउने आयोजक समितिका सचिवालयका सदस्य सचिव डिल्ली नेपालले जानकारी दिए ।

महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिम्स, अफ्रिका, भुटान, वर्मा, लगायतका देशबाट समेत हिन्दु धर्मावलम्बी ठूलो संख्यामा सहभागी हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।

अध्यक्ष पोर्तेलले नेपालका कम्तिमा ५ लाख र विदेशका २० हजार पर्यटकले महोत्सवको अवलोकन गर्ने बताए । त्यसका लागि शौचालय, पानी, आवास, खाद्यान्न, संचार, विद्युत, सुरक्षा लगायतका पूर्वाधार निर्माण सम्पन्न भएको पोर्तेलेले बताए । सताक्षीधाम घना जंगलबीचमा पर्ने भएकाले नेपाल प्रहरी, शसस्त्र प्रहरीको लगभग एकसय जनशक्ति २४ सै घन्टा तैनाथ गरिने आयोजक समितिका अध्यक्ष पोर्तेलले बताए ।

धार्मिक महोत्सवमा निसङकोच सहभागी हुन आयोजक समितिले देश विदेशका पर्यटकलाई अनुरोध गरेको छ । आयोजक समितिका अध्यक्ष पोर्तेलले भने,‘देशी विदेशी पर्यटककोे सुरक्षाको जिम्मा आयोजकले लिन्छ ।’

ड्रोन क्यामेरा र सिसि क्यामेराले महोत्सव परिषरको निगरानी राख्ने आयोजक समितिले जनाएको छ । महोत्सवमा आयोजकले १ सय ५० भन्दा वढी स्टल राख्ने तयारी गरेको छ । धार्मिक महोत्सव भएकाले यो वर्ष मदिरा र माछा मासुको खरिद विक्रिलाई आयोजकले प्रतिवन्ध लगाएको छ । कानुनले वर्जित गरेका खेल बाहेक अन्य खेल तमासा यो वर्षको धार्मिक महोत्सवमा देख्न र मनोरञ्जन लिन पाउने वताइएको छ ।

धार्मिक महोत्सवमा श्रीमद् देवीभागवत् कथासमेत हुने पिठाधीस आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए । नेपाल सरकारको पूर्वनिर्धारित ‘पर्यटन भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेका वेला महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा आयोजना हुने धार्मिक महोत्सवले सोको प्रचारमा टेवा पूर्याउने आयोजकले बताएको छ ।

धार्मिक महोत्सव सुरु हुनु अगावै भारतको पश्चिम वंगालबाट ठूलो संख्याका हिन्दू धर्मालम्वी आएर सत्सङ शुरु गरेका छन् । नेपामा धेरै कोटिहोम भए । तर, गौ संरक्षणका लागि विश्मै पहिलो पटक झापाको शिवसताक्षीमा कोटिहोम आयोजना भएको छ । भूटानबाट सताक्षीधाम आएकी पवित्रा कट्टेलले यो जीवनमा पहिलो पटक १०८ कुण्डको कोटिहोम देख्न पाएकामा आफुलाई पून्य मिलेको महसुस गरिन् ।

सताक्षीधाममा ५ वर्ष अघि स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यक्ता र शास्त्रीय गुणको बारेमा जनचेतना जगाउन धाम परिषरमा वर्षेनी गौकथा महोत्सवको आयोजना गर्दै आएको छ । यो पटक उक्त महोत्सवलाई वृहत र विश्वव्यापी बनाउन धार्मिक महोत्सवको नाम दिएर १०८ कुण्डको कोटिहोम पनि हुन लागेको हो । वर्षेनी धाम परिषरमा हुने यस्ता अनुष्ठानले शिवसताक्षी नगरको गरिमा उँचो भएको नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

लगभग ३ करोड रुपैयाँ लागत अनुमान गरिएको सो धार्मिक अनुष्ठानबाट वचेको भेटीले गोलोक गोवद्र्धन गौशाला वृद्ध र रोगी गाईको उपचार सहयोग र सताक्षीधाम परिषरको पूर्वाधार बिकास गर्ने आयोजक समितिले लक्ष्य लिएको छ । महोत्सवको उद्घाटनका दिन १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राई लगायत करिव १३ मूलुकका हिन्दू धर्मका विध्वत वर्गको सहभागीता हुने आयोजक समितिले जनाएको छ ।