नेपालको सताक्षीधाममा हुने १०८ कुण्ड कोटीहोमको भारतमा प्रचार

झापा, २७ असोज । नेपालमा पहिलो पटक गौ संरक्षण गर्ने उद्देश्यले झापाको सताक्षीधानमा आयोजना गर्न लागिएको कोटीहोमको भारत लगायतका देशमा प्रचारको कार्य तीव्र भएको छ ।

सताक्षीधामको गोलोक गोवद्र्धन गौशालाले कात्तिक २७ देखी मंसिर ९ सम्म आयोजना गर्ने १०८ कुण्ड कोटिहोमको भारत लगायतका देशमा प्रचार प्रसार तीव्र भएको हो । नेपालको ‘पर्यटन भ्रमण वर्ष, २०२०’लाई सफल बनाउने उद्देश्यले महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा हुने कोटीहोम लक्षीत गरिएको छ ।

अन्तर्राष्ट्रिय विध्वत् परिषदका प्रवक्ता आचार्य घनस्याम खनालले नेपालमा भन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिप्स, अफ्रिका लगायत मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटिहोमको प्रचार प्रसार तिव्र भएको बताए ।

पोष्टर, पम्लेटिङ्ग, माईकिङ्ग, ठाँउ ठाँउमा काटिहोमको महत्व र यसको आवश्यक्ताका विषयमा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाइएको प्रवक्ता खनालले जानकारी दिए ।

भारतको दिल्ली, वृन्दाबन, मथुरा, गुजरात, हरिद्वार, मुम्बई, कलकत्ता, बनारस, पश्चिम बंगाल लगायतका स्थानमा प्रचार प्रसारका लागि सयौँ नेपाली भाषी र स्थानीय हिन्दूवादी स्वयम् सेवक परिचालित भएका छन । आयोजकले नेपाल बाहेक विश्वका २० हजार र नेपालका डेढलाख आन्तरिक पर्यटक कोटीहोममा सहभागी हुने आयोजकले अपेक्षा गरेको जनाएको छ ।

सताक्षीधाममा ५ वर्ष अघिमात्र स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यक्ता र शास्त्रीय गुणको बारेमा चेतना दिन र पर्यावरण संरक्षणका लागि कोटिहोमको आयोजना गरिएको पिठाधीस आचार्य नन्दकिशोर भारद्वजले बताए ।

आचार्य नन्दकिशोरले कोटीहोम सँगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद्देवीभागवत कथा महोत्सवसमेत आयोजना हुने बताए । गौशाला स्थापना पछि सताक्षीधाममा वर्षेनी धार्मिक महोत्सव आयोजना हुँदै आएको छ ।

सडकमा छाडा छाडिएका, गाँउघरमा वेस्यार भएका रोगी, वृद्धगाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउन साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका गर्न कोटीहोम हुन लागेको पिठाधीस भारद्वजले बताए ।

नेपाल सरकारले सन २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला सताक्षीधाममा आयोजना हुने कोटीहोमले सकारको कार्यक्रमलाई सहयोग पूर्याएको नेकपा शिवसताक्षीका अध्यक्ष महेन्द्र भट्टराईले बताए । उनले भने,‘कोटिहोमले एक नम्वर प्रदेशको पर्यटन प्रवद्र्धन हुन्छ ।’

कोटिहोम सम्पन्न गराउनका विद्युतका लागि २५ केभिएको ट्रान्सफर्ममिटर हटाएर ५० केभिएको राखिएको छ । भट्टराईले नेपालकै ठूलो कोटिहोम झापामा आयोजना हुन लागेकोमा यसले पूर्वको गौरव मात्र होईन, धार्मिक एकतामा सहयोग पुग्ने विश्वास लिनु पर्ने बताए ।

कोटिहोममा नेपाल लगायत विश्वका ५ सय ५१ जना व्राम्हणले दैनिक होम गर्ने आयोजक गोलोक गोवद्र्धन गौशालाले जनाएको छ । यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक वक्ता सहभागी हुने भएका छन् । आयोजनकका अनुसार दिनहु धार्मिक गुरुवाट प्रवचन हुने छ ।

कोटिहोममा आउने अतिथिका लागि लगभग ३५ वटा कुटीको निर्माण कार्य सुरु भएको छ । एउटा कुटीमा ४ जनासम्म विदेशी पाहुना अटाउन सक्नेछन् । गौशालाका पिठाधीस नन्दकिशोरका अनुसार वाँसका किला, खर र टाटीको वेरामा निर्माण भएको कुटीमा एटेच वाथरुम निर्माण हुने भएको छ ।

आयोजकका अनुसार विदेशी पाहुना र सर्वसाधरणको सुरक्षाको लागि नेपाल सरकारसँग सुरक्षा व्यवस्था मागिने छ । त्यसका अलवा स्यमसेवक, सिसी क्यामेर र ड्रोन क्यामेराबाट कोटिहोम स्थलको सुरक्षा व्ययस्था कडा बनाउने तयारी भएको छ ।

कोटिहोमका लागि गजुर सहित ९ तलाको वाँस जन्य बस्तुबाट जडित यज्ञ कुण्ड निर्माण शुरु भएको छ । सोमबारसम्म ३ तलाको यज्ञ मण्डपको छाना निर्माण भईसकेको गौशालाले जनाएको छ ।

यस अघि झापाको कनकाई नदिको पूर्वीतटमा स्वर्गीय योगी नरहरीनाथले २०४२ सालमा ५ कुण्डको कोटीहोम आयोजना गरेका थिए । अहिले सो क्षेत्रको नाम कोटीहोम रहन गएको छ । झापाको सताक्षीधाममा आयोजना गर्न लागिएको कोटीहोमको कुण्डीय महत्वका आधारमा नेपालमै पहिलो र ठूलो मानिएको अन्तर्राष्ट्रिय विध्वत् परिषदका प्रवक्ता खनालले दावी गरे । कोटीहोमले पर्यावरणलाई सुद्ध गर्ने धार्मिक विश्वास छ ।

कोटिहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्चहुने अनुमान गरेको छ । आयोजकका अनुसार सवैभन्दा धेरै खर्च २७ सय केजी चरुका लागि ७१ लाख खर्च हुने आयोजकले बताइएका छन् ।