महाभारत कालको इतिहाससँग जोडिन्छ सताक्षीधाम

झापा, २६ असार । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अवस्थित चिल्लागढ ऐतिहासिक तथा धार्मिक स्थलको रुपमा परिचित छ । पूर्व–पश्चिम लोकमार्गबाट २.५ कि.मि दक्षिण तथा कनकाई नदीको पश्चिम किनारमा रहेको चिल्लागढ धामको ऐतिहासिक पृष्ठभूमिका सम्बन्धमा पौराणिक ग्रन्थ महाभारतमा वर्णन भएको छ ।

महाभारत ग्रन्थको विराट पर्वको दशौं पृष्ठको २४ औँ श्लोकमा उल्लेख भए अनुसार आजभन्दा पाँच हजार वर्षअघि पाँच पाण्डवहरु काम्यक नामको वनमा वनवास थिए । उनीहरुले साथमा हजारौँ संख्यामा ब्रह्मर्षि, महर्षि, ब्राह्मण, बन्धुवान्धव, शुभचिन्तक समेत थिए । यो चिल्लागढ धाम पनि यही काम्यक वनभित्र अवस्थित थियो । यसरी प्राग ऐतिहासिक कालखण्डको द्वापरयुगिन समयको अन्त्यतिर पाँच पाण्डव वनवासका लागि यस काम्यक वनमा आएका थिए । यो काम्यक वन विराट राज्यको अधिनस्थ थियो ।

त्यसताका विराज राज्य भारतको पश्चिम बंगालको तुर्सा नदी किनारसम्म फैलिएको थियो । पाण्डवहरु यही काम्यक वनको पवित्र कनकाई नदी किनारमा अवस्थित आमटारी नामको वनवाटिकाभित्र तपश्यारत आफ्ना राजगुरु महर्षि धौम्यजी रहेका हुनाले उनीहरु पनि गुरुकै सल्लाह र सुझावमा आफ्नो वनवासकालको बाह्रांै वर्षको समय यही काम्यक वनमा व्यतित गरेका थिए ।

बाह्रौं वर्षको अन्त्य समयमा आचार्य गुरु धौम्यजीको उपदेश अनुसार कौरवहरुलाई परास्त गरेका थिए । सत्यको विजयका निम्ति यज्ञ हवन आदि वैदिक कर्म गरी देवीदेवतासँग शक्ति माग्ने सल्लाह भएबमोजिम यज्ञ भएको थियो ।

आचार्य महर्षि धौम्यजीकै सुझाव अनुसार वैदिक विधिपूर्वक २६ बिगाह जमिनभित्र यज्ञ वेदी उठाइ बीचमा एक बिगाह जमिनको क्षेत्रफलमा हवन कुण्ड बनाइ यज्ञवेदीको चारै कुनामा अग्लाअग्ला वेदीहरु उठाइएको थियो ।

पञ्चदेवको पूजा अर्चना गरी हजारौँ ब्राह्मण, ऋषि, महर्षिहरुबाट महिनौँ दिनसम्म हवन कर्म, पूजन, अर्चन गरी विश्वकै सबैभन्दा ठूलो यज्ञ गरेका थिए । चिल्लागढ धामबाहेक सम्पूर्ण आर्य ग्रन्थहरुमा यतिठूलो क्षेत्रफलको यज्ञ स्थल एवम् यज्ञ कुण्डको वर्णन गरेको पाईदैन ।

त्यसबेला यज्ञको समयमा यज्ञादि कर्ममा सहभागी ब्राह्मण, ब्राह्मण, ऋषि, महर्षि एवम् अतिथिको भोजनको व्यवस्थाका लागि यस यज्ञ कुण्डको ठिक पाँच सय मिटर दक्षिणपट्टि यज्ञस्थलको दक्षिण पूर्वको कुण्डबाट आवागमन द्वार खडा गरी भोजनालयको व्यवस्था मिलाइएको थियो । त्यो भोजनालयलाई हाँडीगढ नामले चिनिन्थ्यो । यो भोजनालयको नजिक एउटा १० मिटर चौडा, ३० मिटर लम्बाई भएको पोखरी थियो ।

पोखरी चाहिँ त्यस यज्ञको समयमा आवश्यक भाडाँवर्तन र भोजनका लागि चाहिने भोजन वर्तन तयार गर्न कुम्हालेहरु झिकाई यहीँको माटोबाट तयार पारको थियो । कालान्तरमा गई पानी भरिएर पोखरी बनेको र हाल यो ठाउँ कनकाई नदीको कटानले कुनै अवषेश नरहेको अवस्था छ ।

यस चिल्लागढ धाम यज्ञको समयमा देवीदेवताको भजनकीर्तनको पनि व्यवस्था रहेको हुनाले भजनकीर्तमा सहभागी भक्तजन कलाकारको बसोबासको व्यवस्थाका लागि यस यज्ञ स्थलबाट १.५ कि.मि. पूर्व हाल कनकाई नदीको दक्षिण–पूर्वी किनारमा व्यवस्था मिलाइएको थियो । यो ठाउँलाई बेनु बाजा नामले सम्बोधन गरिन्छ । पाँच पाण्डवले आचार्य धौम्यजीको आचार्यत्वमा एक महिनासम्म हजारौँ ब्राह्मण, ऋषि, महर्षि एवम् कलाकारकको साथमा यज्ञ गरेका थिए ।

यज्ञको समापन पछि यज्ञमा प्रयोग भएका सम्पूर्ण सामग्रीको व्यवस्थापनका लागि गुरु धौम्यजीमा टक्र्याउँदै आफूहरु चाहिँ उत्तरतर्फ सताक्षी देवीको आराधना गर्दै एक वर्षको गुप्तबासका लागि विराटराजा कहाँ विराटनगरतर्फ लागे । र, गुरु धौम्यजी पनि यज्ञ सामग्री व्यवस्थापन गरी हस्तिनापूरतर्फ लाग्नुभयो भन्ने कथन पाइन्छ ।

यस पवित्र तीर्थस्थलको नामाकरणको सन्दर्भमा अध्ययन गर्दा यस चिल्लागढ धाम यज्ञ भूमिका बारेमा कौरवहरुले कुनै पनि प्रमाण फेला नपारुन् भन्ने उद्देश्यले गुरु धौम्यजीले सूर्यको तपश्यागरी सूर्यदेवलाई जलार्पण गरिएको सूर्य कुण्डको रुपमा नामाकरण गरी यज्ञको गोपनियता नखुलोस् भनी महाभारत ग्रन्थ ‘सूर्यकुण्ड’ नामले सम्बोधन गरिएको र ठाउँठेगाना समेत प्रष्ट नखुलाएको सन्दर्भ प्रष्टसँग बुझ्न सकिन्छ ।

चिल्लागढ धाम प्राचीन धरोहर हो । जहाँ पाँच पाण्डवले आफ्नो बाह्र वर्षको वनबासको समयलाई यसै काम्यक वन क्षेत्रको सेरोफेरोमा व्यतित रेका थिए । र, उनीहरुले सताक्षी देवीको आराधनाका साथै देवदेवीहरुसँग सत्यको विजयखातिर शक्ति मागी विशाल यज्ञ गरेका थिए । पावन यज्ञभूमि घनघोर जंगलमा परिणत भयो । हजारौँ वर्षहरु बित्दै जाँदा करिब पाँच हजार वर्षपछाडि मात्र यहाँ पुनः मानव वस्तीको विकास क्रम सुरु भएको पाइन्छ ।

मावन बस्ती बस्ने क्रममा भारोपेली भाषा परिवारभत्रिका भारत भूमिबाट आएका जातिहरुको बसोबास रहेका थियो । ति जातिका मानिसको शैक्षिक अवस्था कमजोर रहेको र यसको ऐतिहासिक तथ्यलाई बुझ्न नसकी त्यताकाको उक्त स्थानको वनमा विभिन्न प्रजातिका चराहरुको ठूलो संख्यामा बसोबास भएको देखि ‘चिल्ला गढ’ भनी नामाकरण गरेकाले आजसम्म पनि यस स्थानलाई चिल्लागढ धाम नामले चिन्ने गरिन्छ ।

चिल्लागढ धामको नाम चिल्लागढ धाम रहन गएको आज १ सय वर्ष हुन लागेको कुरा इतिहासले यसरी पुष्टि गरको पाइन्छ । यो धाम घना जंगलले ढाकिएको थियो । तर, यसको दक्षिण १.५ किमि दूरीको ब्याङ्डाँडा र पाँच किमि दूरीको चन्द्रडाँगी, सात किमि दूरीको शिवगञ्जजस्ता पुराना ठाउँहरुमा विक्रम सम्वत १९७०÷०७५ देखि मानिसको बसोबास सरु भएको देखिन्छ । यी पुराना बस्तीमा बसोबास गर्ने मानिस सबै राजवंशी (ताजपुरिया), माझी र थोरै संख्यामा सन्थाल जाति पान्छन् ।

धामको ठीक पश्चिमतर्फ व्याङ्डाँडादेखि मोरङे खाडी समीपमा वि.सं. १९६५÷०७० ताका कौशिकी नदी किनारतर्फबाट माझी जातिका पूर्खाहरु बसाइँ सर्दै १९७५÷०८० तिर यस ठाउमा आइ बसोबास गरेका थिए । ती मानिस कोही–कोही शिकारी पनि थिए । तिनै माझी बस्तीका पुरानो समयका बुढापाका मानिसको भनाइ अनुसार त्यस समय उनीहरु कहिलेकाहीँ शिकार खेल्दे र गाईभैँसी चराउँदै जाँदा यस धाम क्षेत्र वपरिपरिको जंगलमा हिंस्रक जनावरहरु लाग्ने र यस यज्ञस्थलको बाहिरी भाग वरिपरि डरलाग्दो गहिरो पानीको दह भएको र भित्रिभाग अत्यन्त बाक्लो जंगलले घेरिएको थियो ।

यहाँभित्र शिकारी मानिसहरु मात्र मुस्किलले बन्दुक साथमा लिई मात्र छिर्न सक्थे र यस यज्ञभूमि भित्रि भागमा प्रवेश गर्न त्यस बेला हालको थलदास कार्कीको घर भएको ठाउँबाट एउटा सानो गल्छिडो (बाटो) थियो । यही गल्छिडोबाट मुस्किलले शिकारीहरु भित्र प्रवेश गर्ने गर्दथे ।

उनीहरुको भनाई अनुसार त्यसबेला यही गल्छिडो हुँदै एउटा बाटोको नमुना पनि थियो । जुन हालको सुन्दरपुर चौधरीको डाँडो हुँदै उत्तरतर्फ सताक्षी देवीको धामतिर लागेको अनुमान गर्न सकिन्थ्यो । शिकारी माझी तथा बुढापाकाको भनाइअनुसार भित्र यज्ञस्थलको सम्पूर्ण भाग ठूलाठूला साल तथा अन्य विभिन्न जातका वृक्ष एवम् लहराले घेरिएको थियो ।

यज्ञकुण्ड सफा कञ्चन पानीले टम्म भरिएर दक्षिणपूर्वी कुनाबाट बाहिर निकास जाने गरेको थियो । यज्ञकुण्डको दक्षिण कुनाको ठीक मध्यभागमा एउटा ठूलो पीपलको वृक्ष रहेको र त्यसको आडमा एउटा ठूलो लहरे प्रजातिको गायोको लहरे वृक्ष बेरिएर रहेको थियो । यी वृक्षहरु २०४०÷४२ सालसम्म पनि रहेका थिए ।

त्यसताका उनीहरुले सुने जानेका र प्रत्यक्ष अवलोकन गर्दा यी वृक्षको तल भित्री अन्तरमा पानीको भाग मुनी दिउँसो ठिक मध्यान्नको समयमा अत्यन्तै मिठो आवाजमा कतै टाढाबाट आएको आवाजझैं लाग्ने गरी नौमती बाजा बजेको धुन सुन्न पाइन्थ्यो । यो आवाज केही समयपछि निष्तेज भएर जाने गरेको बताउँछन् । यी बाजाको आवाज २०१८÷०२० सालताकासम्म यस यज्ञभूमिमा सुन्ने गरेको पाइन्छ ।

विसं. २०२७ सालदेखि हालसम्म यस यज्ञभूमिमा भगवती माताको आराधना गरी बस्नु भएकी माता तुलसादेवी कार्की (काफ्ले) र उहाँका पिताजीहरुले विसं. २०१३, १४ र १५ मा लघुरुद्री यज्ञ र २०१६, १७ र १८ सालमा यस यज्ञ स्थलमा श्रीमद् भागवत् पुराण लगाउनु भएको थियो ।

बिक्रम सम्वत् २०१६ सालमा भागवत पुराण लागेको तेस्रो दिन यस यज्ञ कुण्डको माझबाट अग्निको ज्वाला उत्पत्ति भई आकाशतिर गएर पुन तल यज्ञकुण्डको पानीको माझमा आइपुग्दा बातावरण शान्ति भएको प्रत्यक्षदर्शी माताहरुको भनाई छ ।

विसं. २०२१÷०२२ सालतिर यस धामको नजिक पूर्व आमटारी दक्षिण ढकालपुरतिर बसोबास गर्ने मानिसहरुसमेतले उक्त घटना सुने जानेको कुरा बताउँदै आएका छन् ।
यस धामको भित्री भागमा वेदी उठाइएको चारै किल्लाको भूभागमा त्यस समयमा विभिन्न प्रजातिका चराचुरुङ्गीहरु ठूलो संख्यामा वा यति थिए भनी आँकलन नै गर्न नसकिने गरी बस्दथे ।

केही ठूल्ठूला, लामो–लामो घाँटी भएका राजहाँस जस्ता, हुचिल, हुँडार कर्याङ्कुरुङ, गरुढ आदि जस्ता असंख्य मात्रामा चराहरुको बसोबास रहेको र तिनीहरुमध्ये एउटा हाँस प्रजातिको छोटो घाँटी भएको शरीरको भागमा सुनौला रंगका प्वाँख भएको पछाडि पुच्छरको भागमा सेतो प्वाँख भएको चरा यज्ञकुण्डको वरिपरिका रुखहरुमा धेरै संख्यामा बस्दथे । जसले रुखबाट झर्न लागेको पातहरुसँगै उडेर तल आई यज्ञकुण्डको पानीमा झरेको पातलाई पानीमा डुब्न नपाउँदै चुच्चाले च्यापेर बाहिर लगिफ्याँक्ने गर्दथे ।

यसैकारणले गर्दा यो यज्ञकुण्डमा भरिएको पानी स्वच्छ एवम् निर्मल अवस्थामा रहन्थ्यो स्थानीय माझी जातिका बुढापाकाले बताउँदै आएका छन् । चरा चुरुंगीको यस्तो अवस्था २०२१÷०२२ सालसम्म पनि देखिने गरेको पुरोनो पुस्ताका स्थानीयले बताएका छन् । यस यज्ञ क्षेत्रको परिसर वरिपरिको जंगलमा चमेरा जातिका पंक्षीहरु ठूलो संख्यामा बसोबास गर्ने गर्दथे ।

२०२६ सालपछि यस यज्ञ क्षेत्रको यज्ञकुण्डभन्दा बाहिरको जंगल अतिक्रमण भई बसोबास भएजति यज्ञकुण्डको वरिपरि रहेको साल एवम् अन्य जातका वृक्षहरुमा झुण्डिएर हजारौँ संख्यामा बसोबास गर्दथे । हाल यज्ञकुण्ड पुरिएको र त्यसको संरक्षणका लागि स्थानीयस्तरबाट यज्ञस्थलको वनसम्पदालाई प्रयोग गरी संरक्षण गर्नुपर्ने अवस्था भएकाले रुखहरु काटिएकाले चराहरु विस्थापित न्युन संख्यामा मात्र वरिपरि रहेका वृक्षहरुमा बस्नेगरेको पाइन्छ ।

माझी जातिका शिकारीहरुको आगमन समयताकाकै कुरा हो । यस यज्ञकुण्डको पानीमा पाँच रंगका माछाहरु देख्न पाइन्थे । तिनीहरु केही नीला, केही काला, सेता, सुनौला र राता रंगका थिए । राता रंगका माछा चाहिँ २०२२÷०२३ सालसम्म पनि देखेको कुरा स्थानीयले बताउँदै आएका छन् । त्यसबेला यज्ञकुण्डका माछा खाने मानिसहरु कोही तत्कालै मर्छ र कोही तीन वर्षसम्म रोगिएर मर्छ र ती माछा खान हुँदैन भनी उनीहरुलाई मानिसले बताएका हुनाले ती माझीहरुले पनि नखाएको कुरा बताउँछन् ।

त्यस समयमा धाम परिसरभित्र बसेका चराहरुले त्यो घनघोर जंगलको अवस्थामा उषाकाल, मध्यान्न र सन्ध्याकाल ठिक–ठिक समयमा निकाल्ने भयंकर आवाजले पूरै जंगललाई गुञ्जयमान बनाउँथ्यो । चराहरुको आवाजका साथ कहिलेकाहीँ औशी र पूर्णिमाको दिन यज्ञकुण्डको पानी बीचमा भूमरी परेर तोप पड्किए झैँ ठूलो आवाजले पड्किन्थ्यो ।

औंशीपक्षमा यज्ञकुण्डको पानी र कनकाईमाईको पानी पनि यसरी भूमरी परी एकैसाथ पड्किएमा ठूलो विपत्ति, खडेरी, भलबाढी आउँछ र महामारी चल्छ भनी यसका विशेषताहरु बताउँदै आएको पाइन्थ्यो । २०४०÷०४१ साल ताका पनि यसरी कनकाईमाई र यज्ञकुण्डको पानी पड्किएको आवाज धेरै मानिसले सुनेको र भोगेको समेत पाइन्छ । हाल २५÷३० वर्षयता यो आवाज सुन्न पाइएको छैन ।

यसरी यस यज्ञ क्षेत्रको सानिध्यका ठाउँहरु ब्याङ्डाँडा, चन्द्रडागी, शिवगञ्ज क्षेत्रमा बसोबास गर्ने प्राचीन समाजका मानिस प्रायः भारोपेली भाषा परिवारभित्रको ताजपुरिया भाषा बोल्ने राजवंशी जाति, माझी भाषा बोल्ने माझी जाति र सन्थाल भाषा बोल्ने सन्थालहरुमात्र रहेका थिए । उनीहरुले एकआपसमा सम्पर्क भाषाको रुपमा हिन्दी भाषाको प्रयोग गर्ने गरेका थिए । यिनै जातिका मानिसको मात्र बसोबासको रहेको हुँदा यिनिहरु प्राःय शिकार खेल्ने गर्दथे ।

यस धामको परिसरमा शिकार खेल्न र आफ्ना पशुचरणका लागि ल्याउने लाने क्रममा बढी आवतजावत गर्ने हुनाले यहाँ चराहरु बिहान, बेलुका, साँझ पख ठूलो आवाजले कराउने पानी पनि तोप पड्किएझैं पढ्किने सधैँ होहल्ला र गुञ्जयमान हुने हुनाले चराको सुरक्षित बासस्थान रहेको थियो । चारकिल्ला घेरिएको सुरक्षित गढकिल्ला भएकाले सबैले यसलाई चिल्लागढ धाम नाम शब्दले सम्बोधन गर्दै आए ।

भाषाविद् डा. रामप्रसाद पोखरेलले लेख्नुभएको ‘राष्ट्र भाषा’ भन्ने पुस्तकका अनुसार भारत वर्षका भाषा परिवार भित्र पर्ने ताजपुरिया भाषामा ‘चिल्ल’ भनेको चरो र ‘चिल्ला’ भन्नाले चिल्लको बहुबचन धेरै चराहरु भन्ने हो । यसरी सन्थाल भाषामा पनि चिल्लाको अर्थ चराहरु र गढ भन्नाले धेरै चराहरुको बसोबास भएको एउटा सुरक्षित किल्ला ‘चिल्लागढ’ भन्ने शब्दलाई प्रष्टसँग पुष्टि गर्न सकिन्छ ।

त्यसैगरी संस्कृत भाषा व्याकरण ‘अमरकोष’ नामको पुस्तकमा पनि ‘चिल्ल’ भन्नाले चरो र यसको बहुवचन शब्द चिल्ला भन्नाले चराहरु भन्ने भएको हुँदा र गढ भन्नाले धेरै चराहरु जम्मा भई बसोबास गर्ने गरेको एक घेराबारा भएको सुरक्षित ठाउँ गढ भन्ने शब्दबाट प्रष्ट बुझिने हुनाले धेरै चराहरु जम्मा भई बसोबास गरी बढो गञ्जयमान स्वरमा आवाज बुझ्न सकिन्छ ।

चिल्लागढ धामका यी माथिका सम्पूर्ण ऐतिहासिक आधारप्रमाण एवम् भाषाविद् र भाषाव्याकरणका आधारमा हेर्दा यो पाँच पाण्डवहरुद्वारा आफ्नो वनबासको समयमा आजभन्दा पाँच हजार वर्ष अगाडि यज्ञ गरेका थिए । अतः ‘चिल्लागढ धाम’ नामाकरण रहन गएको हो ।

धामको वर्तमान अवस्था
यज्ञ चिल्लागढ धाम आसपासको क्षेत्रमा प्राकृतिक रुपमा रहेको घना वनजंगल विसं. २०२६ सालमा फडानी गरी सुकुम्बासी बस्ती बसाउँदासम्म यस धाम क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा राखिएको थियो । तर, केही समय पश्चात् यस क्षेत्रमा सरकारी स्तरबाटै अतिक्रमण गरी यज्ञस्थलको वरिपरि बस्ती बसाई यसको अस्तित्व नै संकटमा पर्न लागको छ ।

धामको चारैतिर रहेको वेदीको क्षेत्रभित्र २६ बिघा र यज्ञकुण्डले ओगटेको १ बिघा क्षेत्रफल रहेको छ । हाल यस धामको स्वामित्वमा यज्ञकुण्ड र बाहिरी क्षेत्रफल समेत गरी तीन बिघा क्षेत्रफलको जमिन रहेको छ । ऐतिहासिक र धार्मिक तथा पुरातात्विक महत्व बोकेको यो पवित्र यज्ञ भूमि भएर पनि स्थानीय जनताको पहल र पहुँचको कमी, आर्थिक विपन्नता र राज्यको तर्फबाट उचित ध्यान दिन नसक्दा यसको महत्व र महिमा ओझेलमा पर्न गएको हो ।

यसको संरक्षण र विकास गरी देशकै पवित्र धार्मिक तथा ऐतिहासिक धरोहरका रुपमा स्थापित गर्न स्थानीय जनसमुदायको पहलमा गुरुयोजना निर्माण गर्ने कार्य भएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको चिल्लागढको संरक्षण र विकास गरी भावि पुस्तासम्म हस्तान्तरण गर्न सक्ने बनाउन आवश्यक छ ।

विकासको बिकास, संरक्षण तथा प्रचाप्रसारका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय नगर सरकारले ध्यान दिए पूवसर्् नेपालको एक धार्मिक पर्यटकीय गनतव्य हुन सक्दछ । धाम परिसरमा भगवती माता मन्दिर, शिवालय, माङ्हिम किराँतेश्वर मन्दिर र दुर्गा मन्दिर गरी चार वटा मन्दिरहरु रहेका छन् ।

चिल्लागढ धामको गुरु योजना
धामको स्वामित्वमा हाल परिसर वरिपरि तीन बिघा क्षेत्रफलको जमिन रहेको छ । धामको विकास निर्माण एवम् संरक्षणका लागि गुरुयोजना अन्तरगत धाम परिसर वरिपरि रिङ रोड निर्माण र्गो र पक्की पर्खाल निर्माण गर्ने योजना रहेको छ । यसैगरी गुरुकुल शिक्षाको लागि विद्यालय भवन निर्माण, धामको चारै दिशामा प्रवेशद्वार निर्माण, आश्रम गृहको निर्माण गरिनेछ ।

चिल्लागढ धाम पाँचपाण्डवको यज्ञस्थल भएकाले पाँच पाण्डवको सालिक निमार्ण गरिने गुरु योजनामा उल्लेख छ । धाम परिसरमा धार्मिक वन बाटिका निर्माण र यज्ञ कुण्डको भित्रीभागमा चौतर्फी इटाको सिंडी आकारमा पर्खाल निर्माण गरिने योजना छ ।

धामको भगवतीमाता मन्दिर, शिवालय मन्दिर, दुर्गा मन्दिर र माङ्हिम किरातेश्वर मन्दिरको पुननिर्माण गरिने भएको छ । यज्ञ मण्डप तथा सभाहल, धाम वरिपरि फूलवारी, यात्रु विश्रा गृहको निर्माण गरिने छ । शौचालय एवम् स्नान घर, गौशाला, छात्रावास, जातजातिका परम्परागत बाजागाजा, भेशभूषा आदिको संग्राहलयको स्थापना गरिने योजना उल्लेख छ ।

जातजातिका भाषभाषी विशेषता धार्मिक सास्कृतिक एवम् ऐतिहासिक, पौराणिक ग्रन्थ तथा पाठ्यपुस्तकको पुस्तकालयको निर्माण, अथिति आवास गृह एवम् भोजनालय, धाम परिसर भित्र विधुत तथा खाने पानीको उचित प्रवन्ध मिलाउने । धाम व्यवस्थापन, संरक्षण र परिचालनका लागि सन्त आश्रमको निर्माण गरिने छ ।
लोकमार्ग देखि धाम जोड्ने पक्की सडकको निर्माण गरिने उल्लेख छ । धामदेखि पूर्व कन्काई नदीसम्म पक्कीसडक साथै नदीकिनारमा भगवती मन्दिर निर्माण गरिने छ । धाम परिसर बाहिरपट्टि पूर्व कन्काईमाइ नदी आसपास वनभोज स्थल तथा मनोरञ्जनात्मक वस्तुहरु सहितको स्थलको व्यवस्था गरिने छ । धामका चारैतर्फका प्रवेशद्वारमा पक्की सडकको निर्माण गरिने छ ।

नेपाल सरकार पुरातत्व विभागमार्फत यस धाम क्षेत्रको पुरातात्विक महत्वको खोज, अनुसन्धान तथा विकासमा पहल गर्ने गुरु योजनामा उल्लेख छ । चिल्लागढ धाम विकास समितिले तयार गरेको गरु योजना कार्यान्वयन गर्न १५ करोड लाग्ने अनुमान गरेको छ ।

धामको बिकास तथा संरक्षणमा स्थानीयले प्रयास गरेपनि सरकारी क्षेत्रबाट खासै सहयोग भएको छैन । सरकारी सहयोग बिना गुरु योजना कार्यानवयन हुन नसकने स्थानीयको बुझाई छ ।