सताक्षीधामको १०८ कुण्डीय कोटिहोममा तीर्थालुको घुइँचो
??

विनोद सापकोटा झापा, ४ मंसिर । झापाको सताक्षीधाममा संचालित धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा बुधबारदेखि भक्तजनको भिड लाग्न थालेको छ । बुधबार मात्र ४० हजार भन्दा वढी तीर्थालु कोटिहोममा सहभागी भएको आयोजकले जनाएको छ ।

बालाचर्तुदशीमा मात्र भिड हुने सताक्षीधाममा तीर्थालुको अप्रत्यासित आगमनलाई कोटिहोम आयोजक समितिले खुसी प्रकट गरेको छ । कोटिहोममा ५३ जिल्लाका विभिन्न धर्मका अनुयायीको सहभागिता रहेको छ । ५ वर्षदेखि धार्मिक अनुष्ठान हुन थालेको सताक्षीधाममा पछिल्ला वर्षदेखि विदेशबाटसमेत तीर्थयात्रीको आगमन हुन थालेको छ ।

सताक्षीधाममा कोटिहोमको परिकल्पना गर्ने गोलोक गोवद्र्धन गौशाला पिठका पिठाधीस आचार्य नन्दकिशोर भारद्धाजले सताक्षीधाम देवभूमि भएकोले यहाँ कोटिहोमको आयोजना गरिएको बताए । यो कार्यक्रमले पर्यटन भ्रमण वर्ष २०२०को तिव्र प्रचार भएको पनि उनले उल्लेख गरे । ‘हामीले भक्तजनबाट यस्तो साथ हुन्छ भन्ने सोचेका थिएनौ । तर, दिनदिनै हजारौँ भक्तजनको संख्या थपिन थालेपछि हामी नतमस्तक भएका छौँ’ आचार्य भारद्धाजले भने ।

धाममा मंगलबारसम्ममा ७५ लाख भेटी संकलन भएको थियो । वुधबार साताँै दिन सम्ममा १ करोड ८ लाख भेटी संकलन भएको छ । वुधबार मात्र ३३ लाख रुपैयाँ भेटी संकलन भएको सचिवालले जनाएको छ । महोत्सव मूल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालका अनुसार हालसम्म १ करोड ८ लाख रुपैयाँ भन्दा बढी भेटी प्राप्त भएको छ । यो भेटी जिन्सी सामग्री वाहेकको हो ।

महायज्ञमा लगभग ५० क्वीन्टल घान र ४० क्वीन्टल चालमसमेत संकलन भएको छ । महायज्ञ आयोजक समितिका अनुसार हालसम्म ५ लाख वढी भक्तजनले कोटिहोममा भाग लिएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्गदेनले सर्वसाधरणमा हिन्दू धर्मप्रति मोह जागेको बताए । सताक्षीधामको तीर्थालुको यो भिड जहाँत्यहीँ भेटिँदैन । उनले भने, सताक्षीधामलाई भूगोलले साँघुरो बनाएपनि फराकिलो सोच भएका धर्मालम्वीको भिडले उत्साह थपिदिएको छ ।’

गोलोक गोर्वधन गौशालाको संम्वद्र्धन तथा सताक्षीधाम क्षेत्रको पूर्वाधार बिकासकालागि आर्थिक सहयोग जुटाउने उद्देश्यले कात्तिक २७ गतेबाट कोटिहोम आयोजना भएको हो । महायज्ञमा दैनिक कथा प्रवचन ब्राहमणद्वारा हवन तथा सन्ध्याकालिन गंगा आरतीसमेत हुँदै आएको छ । महाआरतीमा सर्वसाधरणको भिड लाग्ने गरेको आयोजक समितिका अध्यक्ष सोम पोर्तेलले बताए ।

महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सवपनि भइरहेको छ । १३ दिवसीय १०८ कुण्डीय कोटिहोमको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कात्तिक २७ गते उद्घाटन गरेका थिए । आयोजक समितिको सूचना डेक्सका अनुसार हालसम्म नेपाल सँगै भारत, भूटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, बंगलादेश लगायत मूलुकबाट समेत उलेख्य रुपमा भक्तजनको उपस्थिति रहदै आएको महायज्ञ मूल आयोजक समितिले जनाएको ।

दशौँलाख भक्तजनको उपस्थिति रहने अपेक्षागरिएको महायज्ञमा ३ करोड खर्चको अनुमान गरेको छ भने ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । महायज्ञको यहि मंसिर ९ गते बालाचर्तुदशीका दिन बैदिक विधिअनुसार भव्यरुपमा समापन गरिने गोलोक गोवद्र्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले जानकारी दिए ।

सताक्षीधाममा ५ वर्ष यता धेरै स्थायी प्रकृतीका संरचना निर्माण भएका छन् । ति मध्ये केही देवालय रहेको छ । गौशाला निर्माण भएपछि यि संरचना निर्माण भएको स्थानीयले बताएका छन् । गौको बास स्थान (गोठ), ज्योर्ती लिङ्ग भगवान श्री पशुपतिनाथको मन्दिर निर्माण भएको स्थानीयले बताए । श्रीहरी वेद संस्कृत विद्यालय, साकम्बरी सताक्षीमाताको मन्दिर, गौशालाको गाईका लागि चिकित्सालय , दैनिक हवन कुण्ड , सन्त निवास ,प्रशोधन सहितको गौ अर्क उत्पादन, बेल प्रजातिको वनस्पतिको जुस, राम दरबार लगायतका संरचना निर्माण भएका छन् ।

यस्तै हनुमान मन्दिर, सतासीधाम परिसरभित्र ५० फिट ग्रावेल सडक, नाला, गौतम बुद्ध पार्क, वनभोज स्थल स्थानान्तरण, अतिथि गृह, तीर्थयात्री बिसौनी कक्ष, विद्युत , १०० घनमिटरको गोवरग्यास प्लान, दिगम्बेश्वर महादेव परिसरमा सिँढी निर्माण सताक्षीधाम आउने आगन्तुकलाई निःशुल्क भोजनका लागि अन्नपूर्ण भण्डार निर्माण भएको छ । यि संरचना गौशाला स्थापना पछि निर्माण भएका हुन् । स्थानीयवासी भन्छन्, सताक्षीधाम सन्तले बनाएका हुन् ।