सताक्षीधाम कोटीहोममा ७५ लाख भन्दाबढी भेटी संकलन
??

विनोद सापकोटा
झापा, ३ मंसिर । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिनसम्ममा ७५ लाख माथी नगद संकलन भएको छ ।

महोत्सव मूल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको छ । धान्याञ्चल (धान) लगभग ४० क्वीन्टल र ताण्डुलाचल (चामल) ३५ क्वीन्टल संकलन भएको आयोजक समितिले जनाएको छ ।

कात्तिक २७ देखी मंसिर ९ गतेसम्म संचालन हुने सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोममा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएको छ ।ं महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सवसमेत सचालन भइरहेको छ । १३ दिवशिय १०८ कुण्डीय कोटिहोम पूर्वी नेपालमा ठूलो धार्मिक कार्यक्रम भएको तिर्थयात्रीले बताएका छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कार्यक्रममा हालसम्म नेपालका ५१ जिल्लाका तीर्थ यात्री सताक्षीधामको कोटिहोममा सहभागी भएका छन् । आयोजक समितिको सूचना डेक्सका अनुसार नेपालका हालसम्म करिव ५ लाख धर्मालम्बीले कोटिहोममा सहभागी भएको जनाएको छ । यस्तै भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, वंगलादेश लगायत मुलुकबाट १२ हजार हिन्दू धर्मालम्बी तीर्थयात्रीले सहाभागीता जनाएका छन् ।

सताक्षीधाम परिषरमा देखिएका उर्लावारी ७ मोरङ्गको शिद्धिविनायक गणेश मन्दिरका अध्यक्ष महेन्द्र थापाले अचम्वित हुँदै भने, ‘सताक्षीधामलाई सन्त निवास को रुपमा परिणत गर्न स्थानीय तहले योजना बनाउनु पर्छ ।’ पाँच वर्ष अघि सताक्षीधाम आउँदाको पीडा १०८ कोटिहोमले भुलिदिएको उनले बताए ।

संखुवासभाबाट मनोकाँक्षा पूरा गर्न पहिलो पटक सताक्षीधाम आएकी सामापोखरी ३ की हर्कमाया वाह्रकोटीले तोला दान गर्दै भनिन्, ‘सताक्षीमाताले जीवनका सवै रोग हरण गरुन् ।’ सताक्षीधाम आउने उनको यसअघि पनि ठूलो ईच्छा थियो । उनले भनिन् सताक्षीले यसैबेला बोलाएर मेरो मनोकाँक्षा पूरा गर्नुभयो ।’

सताक्षीको पूर्वाधार थपिएकोमा धरमपुर झापाका रामेश्वर चौधरीले खुसि व्यक्त गरे । उनले भने, ‘सताक्षीधाममा सन्तको आवगमन भएपछी लोभ, मोह, र ईश्र्या हटेर गयो ।’ वर्षेनी देवालय थपिदै गएका छन्, उनले भने । २०७१ सालमा सताक्षीधाममा आचार्य नन्दकिशोर भारद्धाजले वृन्दावनबाट २ वटा गाई ल्याएर गौशालाको स्थापना गरेका थिए । गौशालामा यतिवेला ३ सय ५ वटा गाईको संरक्षणमा छन् ।

नेपालबाट भारत निकासीका लागि लैजाँदै गरेका, सडकका असाहय र अपाङ्ग गाईको गौशालाले संरक्षण गर्ने गरेको छ । अघिल्ला ४ वर्षमा पनि सताक्षीधाममा धार्मिक अनुष्ठान हुने गरेका थिए । यो वर्ष झापाका १५ वटै स्थानीय तह कोटिहोम मूल आयोजक समारोह समितिको सदस्य बनेपछि महोत्सव वृहत बनेको हो ।

महोत्सवमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्वु, राजेन्द्र लिङ्गदेन, प्रदेश सभा सदस्य झलकवहादुर दर्लामी मगर लगायतको सहभागीता भइसकेको छ ।
मन्त्री लगायतका सांसदले सताक्षीधाममा बाटो, खानेपानी, संचार, सुरक्षा लगायतका विषयमा आआफ्नो ठाँउबाट सहायोग गर्ने बताए ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङ्गदेनले भ्रष्टचार गर्नेहरुलाई तहलगाउन सक्ने शक्ति आफुलाई प्रदान गरिदिन सताक्षीमातासँग बरदान मागे । उनले भने, ‘राजनीति गर्नेले भष्टचार गरेकै कारण आफुलाई राजनीतिक व्यक्ति भन्न लाज हुन्छ ।’ नेता कार्यकर्ताकै ११÷१२ कक्षा अध्ययन गर्ने छोरा छोरीले पनि आफ्ना अभिभावक राजनीतिककर्मी हो भन्न हिच्किचाउने गरेको उनले बताए । ‘मैले अहिलेसम्म १ रुपैयाँ भ्रष्टचार गरेको छैन, अव पनि नगर्ने शक्ति मिलोस र भष्ट्रचार गर्नेलाई तह लगाउने शक्ति मिलोस’, उनले भने ।

सताक्षीधाम धार्मिक महोत्सवमा खेल तमासा पनि शुरु भएको छ । ३ करोड खर्चको अनुमान गरेको आयोजक समितिले ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखेको छ । कोटिहोमबाट संकलन भएको भेटीले सताक्षीधाम क्षेत्रको पूर्वाधार निर्माण हुने शिवताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले बताइन् ।